2079-03-30
2079-03-30
ईलाका प्रशासन कार्यालय, देवीटार, काभ्रेपलाञ्चोकको परिचयः
महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवतरुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारिका बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । एक कार्यक्रमका बीच काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो । इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएपछि काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका स्थानीय नागरिकहरुलाई नागरिकता बनाउन हजारौँ खर्च गरेर सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिण भेगमा अवस्थित महाभारत गाउँपालिकाको कूल क्षेत्रफल १८६ वर्ग कि.मि. रहेको छ । ८ वटा वडामा विभाजित यस गाउँपालिकाको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार कूल जनसंख्या १६,०७९ रहेको छ । इलाका प्रशासन कार्यालय, बनखुचौर यिनै ८ वडाका वासिन्दाका लागि सेवा पुर्याउने उद्देश्यले स्थापना भएको हो ।
भौगोलिक दृष्टिले अति विकट र दुर्गम मानिएको यस ठाउँमा हालसम्म जिल्ला सदरमुकाम सम्म जोड्ने पक्की सडक सञ्जाल छैन । आफ्नो छुट्टै भौगोलिक, साँस्कृतिक, सामुदायिक पहिचान बोकेको यस गाउँपालिकामा विशेष रुपले तामाङ, मगर, बाहुन–क्षेत्री, माझि, नेवार, दलित, पहरी आदि समुदायको बसोबास रहेको छ ।
पुरानो संरचनाको गोकुले, फोक्सिङटार, बुढाखानी, बनखुचौर र घर्तिछाप गा.वि.स. मिलेर बनेको यस गाउँपालिकाको उत्तरी सिमानामा रोशी गाउँपालिका पहाडले घेरीएको छ भने पूर्वमा सिन्धुली जिल्ला, दक्षिणपूर्वमा सिन्धुली जिल्ला, पश्चिममा खानीखोला गाउँपालिका पर्दछ । महाभारतको बीचमा बनखु केन्द्र अनि काभ्रेपलाञ्चोकको अग्लो स्थानमा रहेको ताराखासे लेक र भुमीचुली चैत्यपानी लेक यसै गाउँपालिकामा पर्दछ ।
दक्षिण सिमानामा कोखाजोर नदी, पूर्वीमा सिन्धुलीको रामपुर खोला र पश्चिम सिमानामा चौखोला नदीले यस गाउँपालिकालाई घेरिएको छ भने यस गाउँपालिकाको नामाकरण गरिएको महाभारत यसै गाउँपालिकाका प्राकृतिक सम्पदा एवं सौन्दर्य हुन् । पूर्णतः कृषिमा निर्भरता यहाँको जनताको मुख्य आर्थिक श्रोत कृषि नै हो । यसैबाट यहाँका जनताले दैनिक जीविकोपार्जन गर्दछन् ।
© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, बनखुचौर, काभ्रेपलान्चोक .